Skip to content

नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम छ : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गर्दै पुराना राजनीतिक दलहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना नेताहरूले नयाँ पुस्ताप्रति अनावश्यक शंका गर्ने गरेको उल्लेख गरे। उनले देश जोगाउने तागत नयाँ पुस्तासँग रहेको भन्दै भने, “तपाईंहरूको हातबाट सत्ता जाँदा मुलुक संकटमा पर्छ कि भन्ने चिन्ता नगर्नुहोस्, हामी सम्हाल्छौँ ।” पुराना दलहरूलाई लक्षित गर्दै उनले संसदलाई बजेट भाषणमा मात्र सीमित राखिएको आरोप लगाए। “जनचासोको केन्द्र बनेको संसद रास्वपाले नै बनाएको हो,” उनले दाबी गरे। अबको पुस्ताले बिग्रिएको अर्थतन्त्र, कमजोर वैदेशिक सम्बन्ध र खस्किएको राष्ट्रिय मनोबललाई उकास्ने क्षमता राख्ने पनि उनको भनाइ थियो । सभापति लामिछानेले पुराना दलहरूले देशलाई निराशातर्फ धकेलेको र सम्भावनै सम्भावना भएको मुलुकलाई सम्भावनाहीन बनाएको आरोप लगाए। “जुन राजनीतिले देशलाई हैतराम बनायो, नागरिकलाई देश छोड्न बाध्य बनायो, त्यो कस्तो राजनीति हो?” भन्दै उनले प्रश्न गरे । आफूहरू राजनीतिक रूपमा परिपक्व हुँदै गएको उल्लेख गर्दै लामिछानेले सक्षम र जिम्मेवार पुस्तालाई साथमा लिएर देशलाई सही गन्तव्यतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।सम्बोधनका क्रममा उनले वर्तमान राजनीतिक संकट समाधान गर्ने एकमात्र विकल्प निर्वाचन भएको बताए। निर्वाचनको वातावरण खल्बल्याउने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै उनले अबको निर्वाचनले देशको भविष्य बदल्ने जिकिर गरे । रास्वपाले संसदका हरेक अधिवेशनलाई नागरिक र युवाहरूले चासोपूर्वक हेर्ने वातावरण निर्माण गरेको उल्लेख गर्दै सभापति लामिछानेले आफ्नो पार्टीले छोटो समयमै जनताको भरोसा जित्न सफल भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्