Skip to content

गोदावरीमा कबर्डहलको माघभित्रै टेन्डर गर्ने मुख्यमन्त्री बानियाँको घोषणा

ललितपुर – जिल्ला खेलकुद विकास समिति ललितपुरको आयोजनामा वीर गणेशमान सिंह स्मृति सातौँ खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति मा. ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भव्य रूपमा उद्घाटन गरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक आन्दोलनका महानायक गणेशमान सिंहको त्याग, निष्ठा र योगदान आजको पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे। उनले खेलकुदलाई युवालाई अनुशासित, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने महत्वपूर्ण माध्यमको रूपमा चित्रण गरे । मुख्यमन्त्री बानियाँले गोदावरी नगरपालिकामा आधुनिक कबर्डहल निर्माणका लागि माघ महिनाभित्रै टेन्डर प्रक्रिया अघि बढाइने स्पष्ट प्रतिबद्धता व्यक्त गरे। उक्त कबर्डहल निर्माण सम्पन्न भएपछि उपत्यकाकै उत्कृष्ट खेल रंगशालामध्ये एक बन्ने दाबी गर्दै उनले प्रदेश सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । प्रदेश सरकारले खेलकुद क्षेत्रमा हालसम्म गरेका कामहरूको चर्चा गर्दै उनले खेलाडीको क्षमता विकास र संरचना विस्तारमा थप लगानी गरिने जानकारी दिए ।

एक फरक सन्दर्भमा मुख्यमन्त्री बानियाँले कृषि क्षेत्रमा संलग्न नागरिकका लागि प्रदेश सरकारले विशेष व्यवस्था गर्ने घोषणा गरे । स्थानीय तहको गरिबीसम्बन्धी तथ्यांकका आधारमा गरिब नागरिकलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने उनको भनाइ थियो । उनले “गरिबलाई आय, गरिबलाई न्याय, गाउँमुखी र जनमुखी विकासमार्फत समृद्ध प्रदेश निर्माण गर्ने” प्रतिबद्धता दोहोर्याउँदै प्रदेश सरकार विकासलाई व्यवहारिक र परिणाममुखी बनाउने दिशामा अघि बढिरहेको बताए । खेल, पूर्वाधार र सामाजिक न्यायलाई एकसाथ अघि बढाउने प्रदेश सरकारको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको यस प्रतियोगिताले ललितपुरमा खेलकुद उत्साह थपिएको सहभागीहरूको प्रतिक्रिया थियो ।

प्रतिक्रिया दिनुहोस्