Skip to content

इरानलाई ट्रम्पको कडा चेतावनी: ‘समय सकिँदैछ, आक्रमण भयावह हुनसक्छ’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न समय सकिँदै गएको भन्दै गम्भीर चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति क्रमशः बढ्दै गएको सन्दर्भमा ट्रम्पले इरानलाई तत्काल वार्तामा आउन आग्रह गरेका हुन् ।

ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी दिँदै यो सैन्य शक्ति भेनेजुएलामा पठाइएकोभन्दा पनि ठूलो भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले चाँडै वार्तामा आएर निष्पक्ष सम्झौता गर्नुपर्ने, परमाणु हतियार स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका छन् । यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल ‘ट्रिगरमा औँला राखेर’ बसेको भन्दै जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल र शक्तिशाली जवाफ दिने चेतावनी दिएका छन् । इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । ट्रम्पको चेतावनी इरानभित्र पछिल्लो समय देखिएको राजनीतिक अस्थिरतासँग पनि जोडिएको छ । इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएका प्रदर्शनहरू धार्मिक नेतृत्वको वैधतामाथि प्रश्न उठ्ने तहसम्म पुगेको बताइएको छ । यस क्रममा सुरक्षा बलको कडा कारबाही हुँदा ठूलो संख्यामा मानिसको मृत्यु भएको दाबी गरिएको छ ।

अमेरिकामा आधारित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार गत डिसेम्बरदेखि सुरु भएको अशान्तिमा ६ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । नर्वेमा आधारित इरान ह्युमन राइट्सले मृतक संख्या २५ हजार नाघ्न सक्ने चेतावनी दिएको छ । यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिनेटको वैदेशिक सम्बन्ध समितिमा इरानी शासन इतिहासमै कमजोर अवस्थामा पुगेको दाबी गरेका छन् । अर्थतन्त्र धराशायी भएकाले सरकारले जनताको गुनासो सम्बोधन गर्न नसकिरहेको उनको भनाइ छ । उता, इरानले भने बराबरी र दबाबरहित वातावरणमा निष्पक्ष परमाणु सम्झौताका लागि आफू तयार रहेको दोहोर्‍याएको छ । उप–विदेशमन्त्री काजेम घारिबाबादीका अनुसार अमेरिका–इरानबीच औपचारिक वार्ता सुरु नभए पनि दुवै पक्षबीच सन्देशको आदानप्रदान भने भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्