Skip to content

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आवश्यक तयारी पूरा

सुदूरपश्चिम – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आवश्यक तयारी पूरा भएको छ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ र सोमबारदेखि सबै मतदानस्थलमा कर्मचारी खटाइएको छ। मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले निर्वाचनसम्बन्धी सूचना टाँस गरिसकेको उहाँले जानकारी दिनुभयो।

प्रदेशका नौ जिल्लाका प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमा १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। प्रदेशभर एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र निर्धारण गरिएको छ।

कञ्चनपुरमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा पुगेका छन्। जिल्लाका तीन निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, छाप, मतदाता नामावलीलगायत सामग्री बुझेर आ–आफ्नो केन्द्रमा पुगेका हुन्।

मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले केन्द्र व्यवस्थापन, मतदान कक्ष तयारी, मतदाता सहायता डेस्क स्थापना तथा सुरक्षा समन्वयको काम अघि बढाएका छन्। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिशचन्द्र जोशीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुर्‍याइएको छ र मतदान प्रक्रिया शान्तिपूर्ण तथा व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरिएको छ।

निर्वाचन लक्षित सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी मतदान केन्द्रमा परिचालित भएका छन्। साथै संयुक्त तथा एकल गस्तीसमेत सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्