काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठुलो पहिरो गएको छ। आज नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा खुम्चिएको छ । यो गिरावटका कारण एकै दिन बजारको १ खर्ब ७९ अर्ब रुपैयाँ सम्पत्ति घटेको छ । बजार खुल्ने बित्तिकै सुरु भएको गिरावट अन्तिम समयसम्म कायम रहँदा लगानीकर्ताहरूमा निराशा देखिएको छ। परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज दिनभर ३४५ वटा कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर कुल १ लाख ४१ हजार ३६ पटक किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बजारको ’ब्रेथ’ निकै कमजोर देखिएको छ। कूल २६१ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्दा जम्मा ७ वटा कम्पनीको मूल्य मात्र बढेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेन । भारी गिरावटको बीचमा पनि केही साना कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्योदय हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज बजारमा नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स कम्पनी, भुगोल इनर्जी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भी इनर्जीमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी शिवम् सिमेन्टको ४५.१७ करोड, ङादी ग्रुप पावरको ४२.०३ करोड र नेशनल हाइड्रोपावरको ३६.७० करोड क्रमशः सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् । कारोबार सुरु भएदेखि नै घटेको बजारले पहिलो ३ घण्टामा १०० अङ्कको करेक्सन लिएको थियो । त्यसपछि केही सुधार आए पनि अन्तिम समयमा बजार थप घटेको हो । सरकारले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएपछि बजारमा नकारात्मक प्रभाव देखिएको हो ।





प्रतिक्रिया दिनुहोस्