काठमाडौँ – शेयरबजार परिसूचक नेप्से सोमबार सुध्रिएको छ । केही दिनयता लगातार ठूलो अंकले सूचक घटिरहेका बेला आज ८३.३३ अंकले बढ्दै २ हजार ७६०.०२ अंकमा उक्लिएको हो । उसो त आइतबार एकैदिन १०५ अंकले सूचक घटेसँगै आइतबार बिहानै अर्थमन्त्रीले बजार सुधारका विषयमा चासो देखाएका थिए । बिहानै स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूसँग भेट गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजारको गिरावटबाट नआत्तिन र छिटै सुधार हुनेमा आशावादी हुन लगानीकर्ताहरूलाई आग्रह गरेका थिए, जसको प्रभाव आजकै बजारमा देखिएको छ । ८३ अंकमाथिले सूचक बढेको आज १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ वटै उपसूच बढेका छन् भने चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २६४ कम्पनीको मूल्य बढ्दा आज जम्मा तीनवटा कम्पनीको मात्र मूल्य घटेको छ । आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर १ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्