Skip to content

पश्चिम एशिया संकट : नेपालीको सुरक्षित उद्धारका लागि कूटनीतिक पहल गर्न सांसद गुरुङको माग

काठमाडौं —  नेपाली काँग्रेसकी सांसद गीता गुरुङले पश्चिम एशियामा जारी युद्धका कारण त्यहाँ रहेका नेपाली नागरिकहरू त्रासमा बाँच्न बाध्य भएको भन्दै उनीहरूको सुरक्षित उद्धारका लागि सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेकी छन् ।

मंगलबार संसदको शून्य समयमा बोल्दै सांसद गुरुङले पश्चिम एशियामा भएका नेपाली नागरिकहरुकाे सुरक्षित उद्धारको लागि माग गरेकी हुन् । उनले वर्तमान अवस्थालाई गम्भीर मान्दै विदेशमा रहेका नेपालीहरूको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरिन्। “पश्चिम एशियामा जारी युद्धका कारण डर र त्रासमा बाँच्न नेपालीहरुको सुरक्षित घर फिर्ताको निमित्त सरकारसँग कुटनीतिक पहलका लागि सरकारसँग माग गर्दछु ,” उनले भनिन् ।

त्यसैगरी, आफ्ना धारणा सार्वजनिक गरेकै कारण महिलामाथि भइरहेको निकृष्ट साइबर बुलिङप्रति पनि उनले गम्भीर आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमार्फत हुने अपमानजनक गतिविधि तत्काल रोक्न र दोषीमाथि कडा कारबाही गर्न उनले जोड दिइन् ।  ‘आफ्नो धारणा सार्वजनिक गरेकै कारण महिलाहरुमाथि भइरहेको निकृष्ट साइबर बुलिङ बन्द गरेर दोषि उपर कडा करवाहीको माग गर्दछु’ उनले भनिन् ।

सांसद गुरुङले समुन्नत नेपाल निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टीले सकारात्मक योगदान दिने अपेक्षा व्यक्त गरिन् । यसका साथै, आफूलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सोलुखुम्बुबासी, देशभरिका मतदाता तथा विदेशमा रहेका नेपालीप्रति उनले हार्दिक धन्यवाद ज्ञापन गरिन् ।

प्रतिक्रिया दिनुहोस्