काठमाडौं — नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरूले वर्तमान आर्थिक चुनौतीहरू, उत्तरी तथा दक्षिणी नाकासम्बन्धी समस्या र आगामी बजेटप्रति आफ्ना माग राख्दै अर्थमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा व्यवसायीहरूको प्रतिनिधि टोलीले माननीय अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष १४ बुँदे ज्ञापनपत्र पेश गरेको हो ।
एकता व्यापार संघका अध्यक्ष तेज आचार्य ले जानकारी दिएअनुसार, सो क्रममा व्यवसायीहरूले विगतदेखि भोग्दै आएका समस्या, वर्तमान ज्वलन्त आर्थिक चुनौतीहरू तथा आगामी बजेटमार्फत समाधान गर्नुपर्ने विषयहरूबारे विस्तृत छलफल गरेका थिए ।
व्यवसायीहरूले विशेषगरी उत्तरी नाका तातोपानी, केरुङ तथा केरला नाका लगायतका व्यापारिक मार्गहरूमा देखिएका समस्या, ढुवानी जटिलता, भन्सार प्रक्रिया, तथा दक्षिणी नाकामा हुने अवरोधबारे सरकारको ध्यानाकर्षण गराएका थिए । साथै, व्यापार सहजीकरण, कर नीतिमा सुधार र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा पनि राखिएको थियो ।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले व्यवसायीका समस्या समाधानका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै आगामी बजेटमा यस्ता विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।
साथै, ज्ञापनपत्र बुझाउने क्रममा मन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्