काठमाडौँ – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनतर्फ महत्वपूर्ण प्रगति भएको छ । फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई रुटमा दैनिक सिधा उडान सेवा सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति प्रदान गरिसकेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् । उनका अनुसार फ्लाई दुबईको उडान तालिका सोमबार स्वीकृत भइसकेको छ र निर्धारित मितिबाट नियमित सेवा सुरु हुनेछ । उडान अनुमति अघि कम्पनीको प्राविधिक टोलीले विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन अवस्थाको स्थलगत निरीक्षणसमेत गरेको थियो ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेपछि यो निर्णय आएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसलाई पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना भएपछि मध्यपूर्व, युरोप र अफ्रिकासहित ३०० भन्दा बढी सहरसम्म पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
झण्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि हालसम्म नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन । यसअघि केही चार्टर उडान तथा हिमालय एयरलाइन्सको पोखरा–ल्हासा व्यावसायिक सेवा सञ्चालन भए पनि दीर्घकालीन रूपमा निरन्तर हुन सकेको थिएन । पर्यटन व्यवसायीहरूले भने नियमित अन्तरराष्ट्रिय उडान सुरु भए पोखरामा पर्यटन, लगानी र आर्थिक गतिविधि उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरेका छन् । साथै काठमाडौँ केन्द्रित हवाई चाप कम गर्न पनि यो सेवा प्रभावकारी हुने विश्वास गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्