काठमाडौं – वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो खसालिएको घटनामा डिभिजन वन कार्यालय धनगढीले उक्त घटनालाई दुर्घटनाको रूपमा प्रस्तुत गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा वन कर्मचारीहरू सामूहिक रूपमा टेम्पोलाई भिरतर्फ धकेलिरहेको दृश्य देखिए पनि कार्यालयले भने ‘असन्तुलनका कारण दुर्घटनावश खस्न पुगेको’ दाबी गरेको हो । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरसहित २२ जना वन कर्मचारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा अतिक्रमण हटाउने अभियानका क्रममा गुडाउन नमिल्ने अवस्थामा रहेको टेम्पोलाई बल प्रयोग गरेर पन्छाउने प्रयास गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार भिरालो भू–सतह र असन्तुलनका कारण उक्त संरचना अनियन्त्रित भई भिरबाट खसेको हो ।
कार्यालयले भिरबाट खसाइएको वस्तुलाई ‘कवाडी टेम्पो’ र ‘फलामे अस्थिपञ्जर’ भन्दै त्यसलाई चल्ने अवस्थाको सवारी नभएको दाबी गरेको छ । विज्ञप्तिमा चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा धकेलेर सार्नसमेत कठिन हुने उक्त संरचना वन क्षेत्र अतिक्रमण गरी पसलको टहरोका रूपमा प्रयोग गरिएको उल्लेख छ । वन कार्यालयका अनुसार उक्त संरचना हटाउन एक महिनाअघि नै निर्देशन दिइएको थियो। आसपासका अन्य १० वटा छाप्रा हटाइए पनि सम्बन्धित व्यक्तिले अटेर गरेपछि कर्मचारीले धकेलेर घरसम्म पुर्याएको र पछि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको दाबी गरिएको छ । तर टेम्पोकी धनी कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले वन कार्यालयको दाबी अस्वीकार गरेकी छन्। उनका अनुसार गाईमारे डाँडास्थित सडक किनारमा राखिएको टेम्पो चालु अवस्थामै थियो र घर लैजान समय माग्दामाग्दै वन कर्मचारीहरूले भिरबाट फालेका हुन् । घटनाको भिडियो सार्वजनिक भएपछि वन कर्मचारीको भूमिकामाथि प्रश्न उठेको छ भने घटनाको वास्तविकता र जिम्मेवारीबारे थप छानबिनको माग पनि बढ्न थालेको छ ।





प्रतिक्रिया दिनुहोस्