Skip to content

बागमती प्रदेशको ६६ अर्ब ९३ करोडको बजेट बहुमतले पारित

हेटौँडा – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याइएको ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गरेको प्रदेश आर्थिक विधेयक, २०८३ सहित बजेटसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । उपसभामुख अप्सरा चापागाईंले निर्णयार्थ पेश गरेको प्रस्ताव ध्वनि मतका आधारमा पारित भएको घोषणा गरिन् । बजेट पारित हुनुअघि विपक्षी सांसद ईश्वर सापकोटा, सृजना सायजु र रत्नप्रसाद ढकालले विभिन्न मन्त्रालयको बजेटमा खर्च कटौतीका प्रस्ताव दर्ता गरेका थिए। ती प्रस्तावहरू निर्णयार्थ पेश गरिए पनि बहुमतले अस्वीकृत गरेपछि सरकारले प्रस्तुत गरेको बजेट यथावत् पारित भएको हो ।

प्रदेश सरकारको बजेटमाथि असार १६ गतेदेखि प्रदेशसभामा निरन्तर छलफल हुँदै आएको थियो। छलफलका क्रममा सांसदहरूले बजेटका प्राथमिकता, योजना छनोट, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता तथा क्षेत्रगत सन्तुलनलगायत विषयमा धारणा राखेका थिए। उठाइएका प्रश्न र जिज्ञासाको सम्बन्धित विभागीय मन्त्रीहरूले शुक्रबार र शनिबार बसेका बैठकमा जवाफ दिएका थिए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पूर्वाधार विकास, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको जनाएको छ । यता, बजेट पारित गर्ने क्रममा सत्तारुढ नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएपछि पार्टीले आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्वीप’ जारी गरेको थियो। ह्वीपपछि कांग्रेसका सबै प्रदेशसभा सदस्य बजेटको पक्षमा उभिएसँगै बजेट सहज रूपमा बहुमतले पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्