काठमाडौं – सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको प्रस्ट पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै विभिन्न माध्यमबाट फैलिएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । हाल बजारको नियमित माग धान्न सक्ने परिमाणमा ग्यास आयात र वितरण भइरहेको उल्लेख गर्दै मन्त्रालयले गत वर्षको यही अवधिको तुलनामा यस वर्ष साउनदेखि पूर्ण सिलिन्डर वितरण सुरु भएपछि ग्यासको माग एक्कासि बढ्दा केही स्थानमा वितरणमा असहजता देखिएको जनाएको छ ।
मन्त्रालयले भनेको छ ‘नेपाल आयल निगम तथा ग्यास उद्योगीको समन्वयमा ग्यास आयात, भण्डारण तथा वितरणको कार्यलाई पारदर्शी र अनुमानयोग्य बनाउनतर्फ समेत सुधारका कार्यहरू प्रारम्भ भएका छन् । तसर्थ ग्यास वितरणमा हाल देखिएको असहजता केही दिनमा पूर्णरूपमा समाधान हुने भएकाले अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न मन्त्रालय सम्पूर्ण उपभोक्ता वर्गमा हार्दिक अनुरोध गर्दछ।’ त्यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको तथा नेपाल आयल निगम र ग्यास उद्योगीबीचको समन्वयमा ग्यास आयात, भण्डारण र वितरण प्रणालीलाई थप पारदर्शी तथा अनुमानयोग्य बनाउने सुधारका काम सुरु गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले हाल देखिएको वितरण असहजता केही दिनभित्र पूर्ण रूपमा समाधान हुने विश्वास व्यक्त गर्दै अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलाग्न उपभोक्तासँग आग्रह गरेको छ। आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौज्दात नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। साथै मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनी व्यवस्था उल्लंघन गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।




प्रतिक्रिया दिनुहोस्