प्यारि छोरी
तिमी जन्मिएको दिनदेखि
मेरो संसारले नयाँ अर्थ पायो।
मेरो काखमा एउटा सन्तान मात्र आएन,
भगवानले आफ्नो सबैभन्दा सुन्दर आशीर्वाद
मेरो जिम्मा लगाइदिनुभयो।
तिम्रो पहिलो मुस्कानसँगै मेरो हाँसो जोडियो,
तिम्रो पहिलो पाइला चल्दा मेरो हृदयले उड्न सिक्यो।
हिजो मेरो औंला समातेर हिँड्ने मेरी सानी बेबि
आज बिस्तारै ठूली हुँदै गएको देख्दा
मेरो छाती गर्वले फुल्छ।
तिमी हुर्कँदै जाँदा मेरा सपना पनि हुर्किए,
म पुन: हुर्किए फुर्किए
तिम्रा आँखामा मैले भोलिको उज्यालो देखेँ,
तिम्रा शब्दमा जीवनको मधुर संगीत सुनेँ।
छोरी तिमी धेरै पढ्नु र बलियो बन्नु,
ताकि कसैले तिम्रो कमजोरीको फाइदा उठाउन नसकोस्।
समाजका हरेक अन्याय र अत्याचारका विरुद्धमा
तिम्रो आवाज सधैं पहिलो बनेर गर्जियोस्।
चुपचाप सहने परम्परालाई तोडेर,
आफ्नो हक र स्वाभिमानका लागि लड्न योग्य बन्नु।
मेरो आशीर्वाद सधैँ तिमीसँग हुनेछ—
तिमी ज्ञानमा सरस्वती बन,
दयामा अन्नपूर्णा बन,
साहसमा दुर्गा बन,
र प्रेममा आफ्नै नामले चिनिने
एउटी असल मान्छे बन।
आज तिम्रो जन्मदिनको यो पावन र विशेष दिनमा,
मेरो मुटुदेखि तिमीलाई लाखौँ लाख शुभकामना!
तिम्रो जीवनको हरेक मार्ग उज्यालो होस्,
किनकि मेरो लागि तिमी केवल छोरी होइनौ,
तिमी मेरो प्रार्थना हौ,
मेरो विश्वास हौ,
मेरो जीवनको सबैभन्दा सुन्दर मणि हौ।
जन्मदिनको धेरै धेरै शुभकामना बेबि…..



प्रतिक्रिया दिनुहोस्