काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट ३५ वर्षमुनिको महिला समूहमा आनन्दी पन्त भट्टले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। पन्त दार्चुलाबाट कांग्रेसको खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । कक्षा ६ देखि नै नेपाल विद्यार्थी संघको झण्डा बोकेर राजनीतिक तथा संगठनात्मक यात्रामा सक्रिय भएको बताउने पन्तले नेविसंघमा करिब दुई दशक काम गरेको बताएकी छन्। त्यसपछि नेपाल महिला संघ दार्चुलाको जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हालेकी उनी कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत बनेकी छन् ।
पन्त यसअघि पनि दार्चुलाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएकी थिइन् । संगठन निर्माणमा आफ्नो लामो अनुभवलाई आधार बनाउँदै पन्तले कांग्रेसको केन्द्रीय समितिमा युवा तथा महिला प्रतिनिधित्वलाई बलियो बनाउने र सुदूरपश्चिमका मुद्दालाई प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन् । “कालापानीको भूगोललाई चुच्चे नक्सामा समेटिएजस्तै नेपाली कांग्रेसको केन्द्रीय समितिमा दार्चुलाको प्रतिनिधित्वलाई पनि समेट्न मतदाताले साथ दिनुहुनेछ भन्ने विश्वास छ,” पन्तले भनेकी छन्। गाउँ–गाउँमा पुगेर कार्यकर्तासँग जोडिँदै संगठन निर्माण गर्नुपर्ने मान्यता राख्ने पन्तले आफू सहरकेन्द्रित राजनीतिभन्दा भुइँ तहका कार्यकर्ता र संगठनलाई प्राथमिकता दिँदै आएको बताएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनमा उनको उम्मेदवारीसँगै सुदूरपश्चिममा युवा महिला नेतृत्व तथा दार्चुलाको प्रतिनिधित्वको विषय चर्चामा आएको छ। यसअघि पन्तले पार्टी नेतृत्वमा नयाँ सोच र ऊर्जा आवश्यक रहेको तथा गाउँमा रोजगारी सिर्जना अहिलेको प्रमुख प्राथमिकता हुनुपर्ने धारणा सार्वजनिक गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस्