काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी आज दिउँसो १ः०० बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेका गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरुङले यही असोज २७ गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नेछन्।
बैठकमा नेपाल, भारत, बङ्गलादेश, भूटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्डसहित सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनेछन् । त्यस बैठकमा लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा, साइबर अपराधलगायतका अन्तरदेशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धनका लागि छलफल हुनेछ । मन्त्रालयका अनुसार, त्यस अवसरमा सुरक्षा क्षेत्रका बिमस्टेकस्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने र घोषणापत्र समेत जारी गरिने छ ।
बैठकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकता दिइने जनाइएको छ ।गृहमन्त्रीका रुपमा उनको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो । बिमस्टेकअन्तर्गत महत्वपूर्ण सहकार्यको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रुपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो । उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो । गृहमन्त्री गुरुङले भ्रमणका क्रममा आफ्ना समकक्षीसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरूङ यही असोज २८ गते बुधबार स्वदेश फर्किने तालिका छ ।



प्रतिक्रिया दिनुहोस्