काठमाडौँ – नेकपा एमालेले गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको पार्टी विधान संशोधन नगर्ने भएको छ । यसअघि एमालेले विधान संशोधन गर्ने चर्चा भएपनि एमालेले भदौमा पारित विधान अनुसार नै ११औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी गठन गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । महाधिवेशनको अघिल्लो दिन बसेको एमाले सचिवालय बैठकमा समेत त्यसबारे छलफल भएपनि विधान संशोधन सम्बन्धी कुनै पनि निर्णय नगरेको हो । भदौमा भएको विधान महाधिवेशनबाट पारित भएर आएको बाहेक कुनै पनि संशोधन नहुने ज्ञवालीले बताए । यस्तै आजको बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । एमाले सचिवालय बैठकले महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गरेको हो । एमालेको विधान अनुसार अबको महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी हुने तथा स्थायी कमिटी नरहने भएको छ ।





प्रतिक्रिया दिनुहोस्