Skip to content

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द

काठमाडौं – महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिँदै आएको उपचार सेवा बन्द गरेको छ। स्वास्थ्य बीमा बोर्डबाट समयमै भुक्तानी नआउँदा सेवा निरन्तरता दिन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार स्वास्थ्य बीमामार्फत गरिएको उपचारको करिब ४० करोड रुपैयाँ भुक्तानी अझै बाँकी छ। अस्पतालले मासिक करिब दुई करोड रुपैयाँ बराबरको सेवा प्रदान गर्दै आएको भए पनि सो रकम समयमै नआउँदा अस्पताल सञ्चालनमै समस्या उत्पन्न भएको उनले बताए । आन्तरिक स्रोतबाट सबै खर्च व्यहोर्नुपर्दा अस्पतालले निरन्तर घाटा बेहोर्नुपरेको र त्यसकै कारण स्वास्थ्य बीमा सेवा बन्द गर्नुपरेको जानकारी दिइएको छ। त्रिवि शिक्षण अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सेवा दिँदै आएको थियो । अस्पतालले विगत दुई वर्षदेखि भुक्तानी उपलब्ध गराउन स्वास्थ्य बीमा बोर्डसँग पटक–पटक आग्रह गरे पनि कुनै ठोस सुनुवाइ नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्