Skip to content

चुनाव प्रचार सँगै गाउँको पर्यटन प्रचारका लागि एउटा फोटो पनि राखौँ : पर्यटन व्यवसायी बके

काठमाडौँ – चुनावी प्रचारका क्रममा गाउँ–गाउँ पुगेका साथीहरूले दैनिक एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गरे मात्रै पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने पर्यटन व्यवसायी राम सुन्दर बकेले बताएका छन् ।

‘चुनाव प्रचारमा गाउँ पुगेका साथीहरूले आफ्नो मोबाइलबाट दैनिक एउटा फोटो पोस्ट गर्नुहोला, आन्तरिक पर्यटनमा तपाईंको योगदान मूल्याङ्कन हुनेछ,’ बकेको भनाइ छ। उनका अनुसार आजको डिजिटल युगमा मोबाइलबाट खिचिएको एउटा साधारण तस्वीरले पनि गाउँको सुन्दरता, संस्कृति र सम्भावनालाई देश–विदेशसम्म चिनाउन सक्ने शक्ति राख्छ । लामो समयदेखि ग्रामिण पर्यटन प्रवर्द्धनमा सक्रिय बके ‘जे पाक्छ, त्यहीँ विक्छ’ भन्ने नाराका साथ गाउँमै होमस्टे सञ्चालन, स्थानीय उत्पादनको उपयोग र स्थानीय स्तरमै रोजगारी सिर्जनाको पक्षमा लागिरहेका छन् । उनका अनुसार ग्रामिण पर्यटनले शहरमुखी बसाइँसराइ रोक्न, स्थानीय अर्थतन्त्र बलियो बनाउन र गाउँको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

बके भन्छन्, “गाउँमा भएका प्राकृतिक सौन्दर्य, मौलिक खाना, संस्कार र पाहुनाप्रतिको आत्मीयता नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो। त्यसलाई चिनाउन महँगो प्रचार आवश्यक छैन, मोबाइल र सामाजिक सञ्जाल काफी छन् ।” उनले राजनीतिक अभियानसँगै गाउँको सकारात्मक पक्षलाई उजागर गर्ने काम पनि समानान्तर रूपमा गर्न सके आन्तरिक पर्यटनले नयाँ गति लिने विश्वास व्यक्त गरे। स्थानीय युवाहरूलाई गाउँमै अवसर सिर्जना गर्ने लक्ष्यसहित अघि बढिरहेको ग्रामिण पर्यटन अभियानमा सबैको सानो योगदानले ठूलो परिवर्तन ल्याउन सक्ने बकेको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्