Skip to content

दार्चुलामा ७१ वर्षीया लक्ष्मी जोशी हत्या प्रकरणः लुटपाटमा संलग्न दुई युवक पक्राउ

दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सोमबार राति आफ्नै घरमा मृत फेला परेकी जोशीको हत्या गरी गरगहना लुटपाट गरिएको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २४ वर्षीय उमेश साउद र डिलाशनी गाउँपालिका–५ लठ्ठेकोट, बैतडीका २४ वर्षीय गोपाल नाथ रहेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टका अनुसार घटनाको अनुसन्धानका क्रममा दुवै जनालाई पक्राउ गरिएको हो । संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापा नेतृत्वको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानबाट मृतककी छिमेकीसमेत रहेका ट्याक्टर चालक साउदकै योजनामा हत्या गरी गरगहना लुटपाट गरिएको खुलेको प्रहरीले जनाएको छ। नाथले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार घटनापछि लुटिएका गरगहना समेत बरामद गरिएको छ। पक्राउ परेकाहरूको साथबाट सुनजस्तो देखिने कानका मुन्द्री दुई थान, नाकको मुन्द्री एक थान र नाकको फुली एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साउद र नाथ यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्