काठमाडौँ – गोठाटारमा जारी अर्किडकपको चौथो दिन पनि खेलहरु सम्पन्न भएका छन् । चौथो दिनको पहिलो अर्थात जारी खेलको म्याच नं. १७ मा भिमेश्वर र सुधा सागरबीच रोमाञ्चक प्रतिस्पर्धा भयो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा सुधा सागरले ४–३ ले जित निकाल्दै अर्को चरणमा स्थान सुरक्षित गर्यो। खेलमा भिमेश्वरका मिलन श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । त्यसैगरी, म्याच नं. १८मा विद्याबानीले नेरिकमाथि एकपक्षीय प्रदर्शन गर्दै ७–० को फराकिलो जित हात पार्यो। खेलमा विद्याबानी सुरुदेखि नै आक्रामक देखिएको थियो। रिमेश श्रेष्ठ (नेरिक) ‘म्यान अफ द म्याच’ घोषित भए । आजै भएको अर्को खेलमा C.B.I.A लाई २–० गोलले पराजित गर्दै काैस्तुभ विजयी बन्यो । उक्त खेलमा डिप्सन सुनुवार (C.B.I.A) ‘म्यान अफ द म्याच’ घोषित भए । त्यसैगरी अर्किडलाई २–० ले हराउँदै निर्मल ज्योतिले स्पष्ट जित निकाल्यो । खेलमा अर्किडका युसान पुरी ‘म्यान अफ द म्याच’ बने । यस्तै आजै भएको अर्को खेलमा एजीएम स्कुलले पिकपोइन्ट स्कुललाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
यस वर्ष प्रतियोगितामा ४६ वटा विद्यालय सहभागी रहेका छन्, जसले प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाएको छ । प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टिमहरूले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगीताको समापन फागुन १० गते हुनेछ ।





प्रतिक्रिया दिनुहोस्