काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ चरणको आइतबार सम्पन्न दोस्रो खेलमा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली ले भारत राष्ट्रिय क्रिकेट टोली लाई ७६ रनले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले भारतको लामो समयदेखिको अपराजित यात्रामा रोक लगाएको हो ।
सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलपछि बहुराष्ट्रिय टी–२० प्रतियोगितामा अपराजित रहँदै आएको भारत सन् २०२४ को संस्करणमा अपराजित रहँदै विश्वविजेता बनेको थियो। यस संस्करणमा पनि सुपर ८ सम्म अपराजित रहेको भारतलाई दक्षिण अफ्रिकाले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गर्यो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १८८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रनमै समेटियो । भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रन बनाए । कप्तान सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले समान १८–१८ रन जोडे । बलिङतर्फ मार्को यानसेनले ३ ओभर ५ बलमा २२ रन दिएर ४ विकेट लिए। केशव महाराजले ३ विकेट लिए भने कर्बिन बोशले २ तथा कप्तान एइडेन मार्क्रमले १ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । डेभिड मिलरले ३५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतक बनाए। ट्रिस्टन स्टब्स २४ बलमा ४४ रन बनाई अविजित रहे भने डेवाल्ड ब्रेभिसले ३५ रनको योगदान दिए । भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिए भने वरुण चक्रवर्ती र शिवम दुबेले समान १–१ विकेट लिए। जितसँगै सुपर ८ को समूह १ मा दक्षिण अफ्रिकाले २ अंक जोडेको छ। उक्त समूहमा भोलि जिम्बाबे र वेस्ट इन्डिजबीच खेल हुनेछ। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ ।





प्रतिक्रिया दिनुहोस्