Skip to content

इरानमा स्थलगत आक्रमण गराउन कुर्द समूहलाई हतियार दिने योजना?

मध्यपूर्वमा तनाव बढ्दै जाँदा संयुक्त राज्य अमेरिकाइजरायलले इरानको इस्लामिक सत्ता कमजोर बनाउन विभिन्न कुर्द समूहलाई हतियार उपलब्ध गराएर इरानभित्र स्थलगत आक्रमण गराउने तयारी गरेको दाबी गरिएको छ।

शनिबार अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा युद्धको अवस्था सिर्जना भएको बताइएको छ। संयुक्त आक्रमणको प्रारम्भिक चरणमै इरानका सर्वोच्च नेता अलि खमेनीसहित कैयौँ वरिष्ठ सैन्य तथा राजनीतिक अधिकारी मारिएको दाबीसमेत विभिन्न अन्तर्राष्ट्रिय स्रोतहरूले गरेका छन्।

त्यसपछि अमेरिका र इजरायलले इरानमाथि निरन्तर हवाई आक्रमण गरिरहेका छन्। तर हवाई आक्रमणले मात्र इरानको धार्मिक शासन कमजोर नपरेपछि त्यहाँका अल्पसंख्यक कुर्द समूहलाई हतियार दिएर इरानभित्र स्थलगत आक्रमण गराउने योजना बनाइएको बताइएको छ।

अमेरिका र इजरायलका गुप्तचर संस्था केन्द्रीय गुप्तचर संस्था (सिआइए)मोसादले हतियार उपलब्ध गराएर इरानको उत्तर–पश्चिमी क्षेत्रमा हमला गराउने तयारी भइरहेको भन्दै अमेरिकी अनलाइन समाचार माध्यम एक्सिओसले उल्लेख गरेको छ।

इरानमा सत्ता परिवर्तनका लागि अमेरिकी स्थलसेना पठाउँदा अमेरिकाभित्रै विरोध हुने तथा अमेरिकी सैनिक मारिने जोखिम रहने भएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुर्द समूहलाई हतियार दिएर आक्रमण गराउने विकल्पमा सहमत भएको हुनसक्ने विश्लेषण गरिएको छ।

तर अमेरिकाले भने यस्तो कुनै योजना नरहेको दाबी गरेको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इरानी शासनविरुद्ध कुर्द मिलिसियाको आक्रमणलाई समर्थन गर्ने कुनै योजनामा सहमति नजनाएको बताएकी छन्। यद्यपि पछिल्ला दिनमा केही अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले मिलेर यस्तो योजना बनाइरहेको दाबी गर्दै आएका छन्।

समाचारअनुसार ट्रम्पले इरानमाथि आक्रमण गरेको भोलिपल्ट आइतबार नै इराकमा रहेका कुर्द नेताहरूसँग टेलिफोन वार्ता गरेका थिए।

शिया बहुल इरान र इराक दुवै देशमा कुर्दहरू अल्पसंख्यक समुदायका रूपमा रहेका छन्। इरानी शासनबाट जोगिन धेरै कुर्द विद्रोहीहरू इराकतर्फ भागेका छन्।

विगतमा इराकमा रहेका कुर्द समूहहरूले अमेरिकी सेनासँग सहकार्य गरेका थिए। अहिले इरानबाट इराक पुगेका कुर्द विद्रोहीलाई हतियार उपलब्ध गराएर इरानमा आक्रमण गराउने सम्भावनाबारे चर्चा भइरहेको छ। इराकी कुर्द समूहसमेत त्यस्तो आक्रमणमा सहभागी हुन सक्ने अनुमान गरिएको छ।

इरानी सेना तथा शासनको सुरक्षा संरचना इस्लामिक रिभोलुसनरी गार्ड कोर कुर्द विद्रोहीहरूको तुलनामा धेरै शक्तिशाली मानिन्छ। तर अमेरिकी र इजरायली वायुसेनाले आकाशबाट साथ दिएमा कुर्द समूहहरूले इरानी सेनालाई चुनौती दिन सक्ने आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्