Skip to content

सिन्धुलीमा भीषण हुरीबतास: घर, विद्यालय र विद्युत् संरचनामा व्यापक क्षति

सिन्धुलीमाढी – सोमबार बेलुका सिन्धुली जिल्लाका विभिन्न स्थानमा आएको भीषण हुरीबतासले जनजीवन प्रभावित बनाएको छ ।

अचानक तीव्र गतिमा आएको हुरीबतासले विद्यालय भवनका छाना उडाउनुका साथै एक दर्जनभन्दा बढी घरगोठमा क्षति पुर्‍याएको छ । किसानका बालीनाली, तरकारी तथा फलफूलसमेत नष्ट भएका छन् ।

हुरीबतासका कारण जिल्लाका घ्याङ्लेख, सुनकोसी, गोलन्जोर, फिक्कल, तीनपाटन र मरिण गाउँपालिका लगायत अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् संरचनामा क्षति पुगेपछि स्थानीयको दैनिकी थप प्रभावित बनेको छ ।

गोलन्जोर गाउँपालिका–१ का वडा अध्यक्ष सोमप्रसाद बरालका अनुसार प्राथमिक विद्यालय जुकेपानीको भवनको छाना पूर्ण रूपमा उडेको छ । त्यस्तै जुकेपानी, सारौटार, च्याकुटार, धनसार र बिर्ता लगायतका गाउँमा हालसम्म नौ वटा घरमा क्षति पुगेको छ ।

बरालका अनुसार विद्युत् सेवा अवरुद्ध भएकाले फोन सम्पर्क समेत विच्छेद भएको छ र क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

यस्तै, गोलन्जोर गाउँपालिका–२ को रजाय क्षेत्रमा १४ घरमध्ये पाँच घरमा छाना उडेर क्षति भएको वडा अध्यक्ष दौलत कार्कीले जानकारी दिनुभयो । तीनपाटन गाउँपालिका–९ सालुकेमा हुरीबतासपछि एक घरगोठमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिका भवन तथा वडा नं. ४ को कार्यालयका झ्यालका सिसासमेत फुटेर क्षति पुगेको छ ।

सिन्धुली क्षेत्र नं. २ का निवर्तमान सांसद लेखनाथ दाहालले सामाजिक सञ्जालमार्फत हुरीबतासले जिल्लाभर अकल्पनीय क्षति पुर्‍याएको भन्दै उद्धार, राहत तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्न सरकारसँग माग गर्नुभएको छ । साथै, पार्टी पंक्तिलाई पनि राहत तथा पुनर्निर्माणमा जुट्न निर्देशन दिनुभएको छ ।

यद्यपि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ । प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ ।

उता नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रले विद्युत् सेवा अवरुद्ध भएपछि प्राविधिक टोली रातिदेखि नै मर्मत कार्यमा खटिएको जनाएको छ । इन्जिनियर केशव खत्रीका अनुसार पोल ढल्नु, तार चुडिनु र ट्रान्सफर्मरमा क्षति पुग्नुका कारण सेवा प्रभावित भएको हो । मर्मत कार्य तीव्र रूपमा भइरहेको र चाँडै सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्