काठमाडौं – इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा गरिने राजनीति त्यागेर मानवतामा आधारित राजनीतिक अभ्यास आवश्यक रहेको बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले गणतन्त्र स्थापनापछि सबै जाति तथा समुदायले समान अधिकार प्राप्त गरिसकेको जिकिर गरे । मुख्यमन्त्री बानियाँले जनजाति, मधेशी, मुस्लिम, महिला तथा खस आर्य लगायत सबै समुदायले संविधानमार्फत अधिकार सुनिश्चित गरिसकेको उल्लेख गर्दै अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
उनले समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले नै सुनिश्चित गरिसकेको भन्दै पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउनका लागि आवश्यक भए पनि त्यसलाई विभाजनकारी ढंगले प्रयोग गर्न नहुने धारणा राखे।
सशस्त्र द्वन्द्वकालको सन्दर्भ उल्लेख गर्दै उनले त्यस समयमा जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी तथा सर्वसाधारण नागरिकले ज्यान गुमाएको स्मरण गराए । उनले भने, “संविधानले जातीय पहिचान, अस्तित्व, समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ। अब सधैं अधिकारको लडाईं होइन, कर्तव्यको व्यवस्थापनतर्फ अघि बढ्नुपर्छ।” मुख्यमन्त्री बानियाँले सबै वर्ग र समुदायको अधिकार कार्यान्वयनसँगै मुलुकको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।






प्रतिक्रिया दिनुहोस्