काठमाडौं – यही चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी अघि बढेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ । योसँगै राष्ट्रपति कार्यालयले संघीय संसद्को अधिवेशन बोलाउनेबारे तयारी गरेको हो । बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । जहाँ प्रतिनिधिसभा सदस्यको शपथ र प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा छलफल भएको थियो । छलफलले नवनिर्वाचित सदस्यहरूको शपथ यही चैत १२ गते हुने तय गरेको छ । १२ गते बिहान साढे ११ बजे ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनेछन् । सोही दिन दिउँसो २ बजे ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् । त्यसपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । १३, १४ र १५ गते सरकार गठन र त्यससँग सम्बिन्धित कार्य हुनेछ ।
चैत १६ गते प्रतिनिधिसभाको पहिलो बैठक बोलाउने तयारी रहेको छ । यो विषय सर्वदीय बैठकमा समेत जानकारी गराइएको थियो । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले शपथपछि अधिवेशन आह्वान हुने बताए । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले पनि शपथपछि सरकार गठन र लगत्तै संसद् अधिवेशन आह्वान हुनेबारे ब्रिफिङ भएको जानकारी दिए । ‘१६ गते पहिलो बैठक बोलाउने भन्नेबारे छलफल भएको छ । शपथपछिको त्यही दिन उपयुक्त हुनेगरी संसद् सचिवालयले तयारी अघि बढाएको ब्रिफिङ पनि बैठकमा भयो,’ मल्लले अनलाइनखबरसँग भने । बिहीबार सर्वदलीय बैठकमा पहिलो बैठकमा के कस्ता एजेण्डा हुनेछन् भनेर समेत छलफल भएको छ ।
त्यसदिन राष्ट्रपतिले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू पढेर सुनाउने, दलका नेताहरूले बोल्न चाहेको खण्डमा शुभकामना मन्तव्यका लागि समय दिने लगायतका कार्यसूची राख्ने अभ्यास छ ।





प्रतिक्रिया दिनुहोस्