काठमाडौं – काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह ले जेनजी आन्दोलनका क्रममा सरकारले भदौ २३ गते गरेको अत्यधिक बल प्रयोगकै कारण भदौ २४ को घटना भएको बताएका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा समेटिएको बयानअनुसार शाहले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र सरकारमा सहभागी दलहरूले लिनुपर्ने उल्लेख गरेका छन् ।
उनले आफ्नो बयानमा भनेका छन्, ‘२४ गतेको घटना दुःखद थियो र २३ गते सरकारको अत्यधिक बल प्रयोग तथा आतंकवादी शैलीको नतिजा हुन सक्छ।’ शाहका अनुसार काठमाडौं महानगरपालिकाले समयमै दमकल परिचालन गरेर आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको थियो। ‘महानगरभित्रका संरचनामा लागेको आगो महानगरकै दमकलले नियन्त्रण गरेको हो,’ उनले बताएका छन् ।
राष्ट्रपति र सेनापतिको आग्रहमा शान्ति प्रयास
शाहले बयानमा आफूले आन्दोलन शान्त पार्न महत्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गरेका छन् । उनका अनुसार राष्ट्रपति र सेनापति को आग्रहमा आफूले हस्तक्षेप गरेर स्थिति सामान्य बनाउन प्रयास गरेका थिए । ‘सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मैले आन्दोलनलाई शान्त पार्ने भूमिका खेलेको थिएँ,’ उनले भनेका छन् । अन्त्यमा उनले तत्कालीन सरकारले नै ‘अपराध र आतंकवादी क्रियाकलाप’ गरेको आरोप लगाउँदै घटनाबाट भएको सम्पूर्ण क्षतिको जिम्मा सरकार र सहभागी दलहरूले लिनुपर्ने जिकिर गरेका छन्।
बालेन साहको बयान
२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिए । २३ गतेको शान्तिपूर्ण रैलीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन । व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछी महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका संचार माध्यमबाट थाहा पाए । मेरो सामाजिक संजालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो । जनधनको रक्षाको लागी सामाजिक संजाल मार्फत संयमता अपनाउन अपिल गरेको थिए । घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरुसँग समन्वय गरी घाइते र मृतकहरुको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। २४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते का.म.न.पा ले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो । सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ। काठमाँडौ महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदैगर्दा अनावश्यक रोकेपछी विरोधस्वरुप Metaphor को रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा “जलाई दिन्छु” शब्द प्रयोग भएको थिएन ।





प्रतिक्रिया दिनुहोस्