पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार पाँच दिन म्याद थप गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । ‘ओली र लेखकलाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि चैत २१ गतेदेखि लागु हुने गरी ५ दिन म्याद थपको अनुमति प्रदान गरिएको छ,’ आदेशमा भनिएको छ । ज्यान सम्बन्धी कसुरको अनुसन्धानको क्रममा दुबै जनाको बयान सकिसकेको छ ।
यद्यपि थप अनुसन्धान गर्ने, प्रमाण बुझ्ने समेतका कार्यहरू गर्न बाँकी रहेको भन्दै अदालतले अनुसन्धानका लागि भनेर म्याद अनुमति दिएको हो । चैत १४ गते बिहान पक्राउ परेका ओली र लेखकलाई आज तेस्रो पटक म्याद थप भएको हो । सुरूमा ५ दिन म्याद थप भएको थियो। उक्त म्याद सकेर दुई दिन फेरि म्याद थपिएकोमा आज तेस्रो पटकमा ५ दिनको म्याद थपिएको हो । दुबै जनाले आफूहरूलाई गैरकानुनी रूपमा प्रहरीले पक्राउ गरेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्