धनगढी – बैतडीबाट प्रदेश सभामा निर्वाचित नेपाली काङ्ग्रेसका सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई मन्त्री नियुक्त गरी त्यससम्बन्धी जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेका छन् । उक्त मन्त्रालय असारदेखि रिक्त रहेकाले त्यसको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए । नवनियुक्त मन्त्री भट्टले आज साँझ ५ बजे सपथ लिने कार्यक्रम रहेको छ ।
बैतडी प्रदेशसभा क्षेत्र नं. २ बाट निर्वाचित भट्ट यसअघि कानुन मन्त्रीको जिम्मेवारीमा रहेका थिए । संसदीय दलको बैठकले आज भट्टलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
यस्तै बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना दिने निर्णय पनि गरिएको छ । त्यसैगरी, बैठकले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ । संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्