काठमाडौँ – गर्भपतन गराउँदा मृत्यु भएकी पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको उपचारमा संलग्न डा.सतिश रुपाखेती निलम्बनमा परेका छन् । नेपाल मेडिकल काउन्सिलले रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरेको हाे ।
घटनाबारे छानबिन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा उपचारमा लापर्वाही गरेको भन्दै डा.रुपाखेतीलाई काउन्सिलले तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो । समिति गठन भएको तीन दिनमै समितिले तयार पारेको प्रतिवेदन शनिबार सार्वजनिक गरिएकाे छ । निलम्बनमा परेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रुपाखेती इन्दुलेखा क्लिनिकमा कार्यरत छन् । इन्दुलेखा र जोनल फार्मेसीलाई सञ्चालनमा तत्कालका लागि रोक लगाएको नेपाल मेडिकल काउन्सिलका सदस्य एवं छानबिन समितिका संयोजक डा.सम्राट पराजुलीले जानकारी दिए । नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई उपचारमा लापर्वाही गर्ने मेडिकललाई सञ्चालनमा रोक लगाउन पत्राचार गरिने उनले बताए । काउन्सिलले छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेपछि शुक्रबार परिवारले शव बुझेका थिए । उपचारमा संलग्न चिकित्सकहरूलाई कानुनअनुसार कारबाहीका लागि पीडित परिवारले माग गरिरहेका छन् ।
के थियो घटना ?
गीता पहिलो बच्चा जन्मिएको पाँच वर्षपछि दोस्रो पटक आमा बन्ने तयारीमा थिइन् । गर्भमा बच्चा बसेपछि पाण्डे दम्पती गर्भ परीक्षणका लागि गत २७ चैतमा बुटवलको इँटाभट्टीमा रहेको खत्री नर्सिङ होम पुगेका थिए । परिवारका अनुसार त्यहाँ डा.डीबी खत्रीले चेकजाँज गरेपछि गर्भमा करिब १२ हप्ताको भ्रूण रहेको र भ्रूण असामान्य रहेको भन्दै गीतालाई गर्भपतन गराउन सुझाव दिएका थिए । त्यसपछि उनीहरूलाई ४ वैशाखमा नर्सिङ होममा बोलाइएको थियो । साेहीअनुसार उनीहरू ४ गते नर्सिङ होममा जाँदा गीतालाई जाँच गरेका डा.खत्री नभएको भन्दै स्वास्थ्यकर्मीहरूले फेरि ५ गते बोलाएका थिए । ५ वैशाखमा नर्सिङ होममा पुगेर चेकजाँज गरेपछि डा.खत्रीले ‘प्रेस्क्रिप्सन लेटर’ र ‘लोकेसन कार्ड’ दिएर बुटवल हस्पिटल लाइनको जोनल फार्मेसीमा रिफर गरे ।
जोनल फार्मेसी पुगेपछि त्यहाँका स्वास्थ्यकर्मीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर दुईथरी औषधि दिई ६ वैशाखमा आउन भनी घर पठाएको गीताका श्रीमान् प्रकाश पाण्डेले बताए । सोही अनुसार भोलिपल्ट थप उपचारका लागि जोनल फार्मेसी पुगेकी गीता घर फर्किन भने पाइनन् । जोनल फार्मेसीले दुई वटा औषधि दिएर घर पठाएको थियो । फार्मेसीले भनेबमोजिम साँझ १ गोली र बिहान १ गोली औषधि खाएर अर्को दिन बोलाएकै समयमा जोनल फार्मेसीमा पुगेपछि गीताको स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो । औषधिको प्रतिक्रिया देखिएपछि उनलाई पखाला लाग्न थालेको र केही समय फार्मेसीमै राखेर उपचार गरीएको थियो । त्यहाँ उनको उपचार सफल हुन नसकेपछि नजिकैको इन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ डा.सतीश रुपाखेतीले उपचार सुरु गरेका थिए । इन्दुलेखा क्लिनिकमा समेत औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । लगातार औषधि प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि ६ वैशख दिउँसो ३ बजेतिर गीतालाई अन्ततः बुटवलकै लुम्बिनी सिटी अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुगेलगत्तै गीताको स्वास्थ्य जाँच गर्दा त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्