हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले प्रदेश सरकारमाथि विभिन्न किसिमका ‘आक्रमण’ भइरहेको उल्लेख गर्दै सरकार अहिले खर्च नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित रहेको बताएका छन् । हेटौंडामा आयोजित पत्रकारहरूसँगको अन्तरसंवाद कार्यक्रममा उनले प्रदेश सरकारको स्वीकृत दरबन्दी करिब ५ हजार २ सय रहेको जानकारी दिँदै तीन तहका सरकार गठन हुँदा तय भएको संरचनाभित्रै रहेर खर्च कसरी घटाउन सकिन्छ भन्नेमा सरकार लागेको बताए । मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारको कुल बजेट ६७ अर्ब रुपैयाँ रहेको छ, जसमा ४१ अर्ब पूँजीगत र २६ अर्ब साधारण खर्च समेटिएको छ। चालु आर्थिक वर्षमा करिब २ अर्ब रुपैयाँ खर्च कटौती गरिएको जानकारी उनले दिए । अनावश्यक खर्च नियन्त्रणका लागि सबै मन्त्रालयलाई निर्देशन दिइएको उल्लेख गर्दै उनले अत्यावश्यक अवस्थामा मात्रै सवारी साधन प्रयोग गर्न भनिएको बताए। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले खर्च बढाएको भन्दै त्यसको व्यवस्थापनका उपाय खोजिरहेको उनको भनाइ थियो । सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयका सचिवहरूसँग नियमित छलफल भइरहेको उनले बताए। विशेषगरी यातायात क्षेत्रका सेवामा ढिलासुस्ती र गुनासो नआओस् भनेर समयमै काम गर्न निर्देशन दिइएको उनले स्पष्ट पारे।
प्रदेशको मुख्य राजस्व स्रोतका रूपमा रहेको यातायात क्षेत्रलाई सुधार गर्दै सेवा डिजिटाइज गर्ने योजना रहेको उल्लेख गर्दै उनले जनताले घरमै बसेर सेवा लिन सक्ने व्यवस्था गर्ने लक्ष्य रहेको बताए । खानेपानी, सिँचाइ, ऊर्जा, भौतिक पूर्वाधार, सामाजिक विकास र स्वास्थ्य मन्त्रालयमार्फत प्रदान गरिने सेवाहरूलाई सहज र प्रभावकारी बनाउन आफू सक्रिय रहेको उनको भनाइ थियो । सञ्चारकर्मीलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले तथ्यहीन र नकारात्मक समाचारले समाजमा भ्रम फैलाउने भन्दै सत्यतथ्यमा आधारित, निष्पक्ष र खोजमूलक पत्रकारितामा जोड दिन आग्रह गरे। उनले सञ्चार माध्यमलाई ‘राज्यको चौथो अंग’को जिम्मेवारी स्मरण गराउँदै जनतालाई सही सूचना दिनुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्