ललितपुर — अखिल नेपाल होमियोप्याथिक एशोसिएशनको ७७औँ वार्षिकोत्सव तथा साधारणसभा आइतबार ललितपुरमा सम्पन्न भएको छ ।
एशोसिएशनका अध्यक्ष डा. बिष्णु प्रसाद मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्व उपसभामुख इन्दिरा रानामगर प्रमुख अतिथि रूपमा सहभागी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. मिश्रले नेपालमा होमियोप्याथिक चिकित्सा क्षेत्रले भोग्दै आएका विभिन्न समस्या र चुनौतीहरू औंल्याएका थिए। उनले नीतिगत अस्पष्टता, आवश्यक पूर्वाधारको अभाव तथा सरकारी प्राथमिकतामा नपरेको अवस्थाका कारण यो क्षेत्र अपेक्षित रूपमा विकास हुन नसकेको बताए । मिश्रले राज्यको स्पष्ट नीति, बजेट विनियोजन र जनशक्ति व्यवस्थापनमा सुधार नगरेसम्म होमियोप्याथिक सेवा प्रभावकारी रूपमा विस्तार गर्न कठिन हुने धारणा राखे ।
कार्यक्रमकी प्रमुख अतिथि सांसद रानामगरले होमियोप्याथिक क्षेत्रका समस्या गम्भीर रहेको स्वीकार गर्दै ती विषयलाई सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइन्। उनले स्वास्थ्य सेवामा वैकल्पिक चिकित्सा पद्धतिको महत्व बढ्दै गएको उल्लेख गर्दै यस क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिइन् । यसै अवसरमा एशोसिएशनको तर्फबाट डा. मिश्रले पुर्व उप-सभामुख रानालाई ज्ञापन पत्र बुझाएका छन् ।







प्रतिक्रिया दिनुहोस्