हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भाषिक विविधताको सम्मान गर्दै मातृभाषाको संरक्षण, प्रवर्द्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । भाषा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले “प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०” कार्यान्वयन हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका हुन्। उनले बागमती प्रदेशमा बसोबास गर्ने विशेषगरी तामाङ र नेपाल भाषा (नेवारी) बोल्ने समुदायसहित सम्पूर्ण भाषाभाषी नागरिकहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री बानियाँले नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको रूपमा स्वीकार गरेको स्मरण गराउँदै भाषा र संस्कृतिको संरक्षण गर्ने अधिकार सुनिश्चित गरिएको बताएका छन्। सोही संवैधानिक मर्मअनुसार बागमती प्रदेश सरकारले नेपाली भाषासँगै तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको उनको भनाइ छ । उनले नेपाली, तामाङ, नेपाल भाषा लगायतका मातृभाषाहरूले नेपालको सामाजिक विविधता र समृद्ध परम्परालाई जीवन्त राख्दै आएको उल्लेख गर्दै यी भाषाहरूको संरक्षण र विकासमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । मुख्यमन्त्री बानियाँले “प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०” जारी गरेर बहुभाषिक नीतिलाई व्यवहारमा उतारिएको उल्लेख गर्दै मातृभाषाको सम्मान, शिक्षा र प्रयोगलाई अझ विस्तार गर्न प्रदेश सरकार निरन्तर प्रयासरत रहेको जानकारी दिए ।
उनका अनुसार यस ऐतिहासिक पहलबाट विशेषगरी तामाङ र नेवार समुदायसहित सम्पूर्ण प्रदेशवासीले आफ्नै मातृभाषामा सरकारी सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित भएको छ । यसले नागरिक र सरकारबीचको सम्बन्धलाई थप सुमधुर, जनमुखी र सेवामुखी बनाउने विश्वास व्यक्त गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्