काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार साँझ बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा साँझ ६ बजे बस्ने बैठकमा महाधिवेशनदेखि अनुशासनात्मक कारबाहीसम्मका विषयमा छलफल हुने भएको छ । पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकले पार्टीको पहिलो महाधिवेशनअन्तर्गत विस्तृत कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यविधि पारित गरिसकेको छ। रास्वपाले २०७९ असार ७ गते स्थापना भएपछि पहिलो महाधिवेशन भदौभित्र सम्पन्न गर्ने निर्णय गरिसकेको भए पनि विभिन्न कारणले मिति सर्दै आएको छ । बैठकमा पार्टीका विभिन्न तहगत समितिहरूको भेला तथा अधिवेशनको विशेष तालिकाबारे छलफल हुने बताइएको छ। साथै आयोग तथा विभागका पदाधिकारी मनोनयन गर्ने, जिल्ला समिति विघटनबारे निर्णय गर्ने विषय पनि कार्यसूचीमा समेटिएको छ ।
यस्तै, पछिल्लो समय सांसद तथा केही नेताहरूको भूमिकामाथि उठेका प्रश्न र सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिने प्रवृत्तिबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । आवश्यक परे अनुशासनात्मक कारबाहीका विषयमा समेत निर्णय हुन सक्ने संकेत रास्वपाले दिएको छ । बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्नुका साथै विविध प्रस्तावमाथि पनि छलफल गरी निर्णय गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्