Skip to content

सिद्धिपुरको ऐतिहासिक बस्तीमा पूर्वाधार विस्तार, ४ इन्ची ढुङ्गा छाप्ने कार्य सुरु

ललितपुर – परम्परागत कला, संस्कृति र नेवारी सभ्यताका लागि परिचित ललितपुरको सिद्धिपुरमा सडक पूर्वाधार विस्तारको काम अघि बढाइएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ६ अन्तर्गत छाउनीदेखि देवनानीसम्म ४ इन्चीको ढुङ्गा छाप्ने कार्यको शिलान्यास गरिएको हो ।

आइतबार सम्पन्न कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनले जनताको सेवा, समर्पण र विकास  आफ्नो प्राथमिकता रहेको बताउँदै सिद्धिपुरको कोर एरियाभित्र चरणबद्ध रूपमा ४ इन्चीको ढुङ्गा छाप्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको सिद्धिपुरलाई आधुनिक पूर्वाधारसँग जोड्दै मौलिकता जोगाउनु स्थानीय सरकारको प्राथमिकता रहेको बताइन् । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष धर्म महर्जन, सदस्यहरू सुरेन्द्र महर्जन र शुशान्त महर्जन लगायत स्थानीयवासी तथा उपभोक्ता समितिका सदस्यहरूको सहभागिता रहेको थियो । सिद्धिपुर काठमाडौं उपत्यकाको पुरानो नेवारी बस्तीमध्ये एक मानिन्छ। यहाँका परम्परागत घर, सांस्कृतिक सम्पदा, जात्रा तथा स्थानीय जीवनशैलीले यस क्षेत्रलाई विशेष पहिचान दिएको छ । पछिल्लो समय पूर्वाधार विकाससँगै सांस्कृतिक मौलिकता जोगाउने प्रयास पनि सँगसँगै अघि बढिरहेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्