काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ । पार्टीको तर्फबाट मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् ।
लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य संसद्मा देखिएको उनको भनाइ थियो । ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो । राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ उनले भनिन् ।
संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्ने कुरा आफ्नो पार्टीलाई लागेको उनले सुनाइन् । ‘यस विषयमा स्पष्ट जवाफ दिइयोस् । यस्ता घटनाको पुनरावृत्ति नहोस् । लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’





प्रतिक्रिया दिनुहोस्