Skip to content

अपिहिमालमा २५ दिने हस्तकला तालिम सम्पन्न, महिलामा आत्मनिर्भरताको उत्साह

दार्चुला – अपिहिमाल गाउँपालिकामा महिलाको सीप, सिर्जना र आत्मनिर्भरतासँग जोडिएको २५ दिने हस्तकला तालिम सम्पन्न भएको छ । स्थानीय जलवायु अनुकूलन परियोजना कार्यान्वयन इकाइद्वारा सञ्चालित उक्त तालिम वडा नम्बर ३ का महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। तालिममा मकैको खोस्टा अर्थात् “प्वाख” प्रयोग गरेर विभिन्न आकर्षक हस्तकला सामग्री बनाउने सीप प्रदान गरिएको थियो ।

घरआँगनमै सहज रूपमा उपलब्ध हुने प्वाखलाई उपयोग गरी आम्दानीको स्रोत बनाउन सकिने सम्भावना देखिएपछि सहभागी महिलाहरू उत्साहित बनेका छन् । तालिमले स्थानीय स्रोत र सामग्रीको सदुपयोग गर्दै महिलालाई स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

समापन कार्यक्रममा सहभागीहरूले आफूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै हस्तकला सामग्री उत्पादनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकाले यस्ता कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउनुका साथै स्थानीय कला, संस्कृति र उत्पादनको प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्