काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन शाहको व्यवहारले देशको सिंगो राजनीतिलाई दुर्घटनातर्फ धकेल्ने संशय पैदा गरेको बताएका छन् । सुविधाजनक बहुमत हुँदाहुँदै संसदलाई छलेर अध्यादेश ल्याउनु, नियमावलीमार्फत मूल ऐन मिच्नु, राष्ट्रपतिले वाचन गरिरहेको सरकारको नीति कार्यक्रम बहिस्कार गर्नु जस्ता कार्य लोकतन्त्रमाथिको निर्मम प्रहार भएको उनले बताए ।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘प्रधानमन्त्रीको पछिल्लो डेढ महिनाको कार्यकालले संसदीय व्यवस्था र लोकतान्त्रिक जबाफदेहितालाई झनै कमजोर बनाएको छ। सुविधाजनक बहुमत हुँदाहुँदै संसद्लाई छलेर अध्यादेश ल्याइनु, नियमावलीमार्फत मूल ऐन मिच्नु, सम्माननीय राष्ट्रपतिले वाचन गरिरहेको सरकारकै नीति तथा कार्यक्रम बहिष्कार गर्नु र सांसदहरूलाई जवाफ दिन संसद्मै उपस्थित नहुनु सामान्य पदीय कमजोरी होइन। यी शृङ्खलाबद्ध घटनाक्रम स्थापित संसदीय अभ्यास, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथिका निर्मम प्रहार हुन्।’ संसदबाटै चुनिएका प्रमुखले आफ्नो न्यूनतम जिम्मेवारीसमेत निर्वाह गर्न नसक्दा जबाफदेहिता झनै कमजोर बन्दै गएको उनको भनाई छ ।





प्रतिक्रिया दिनुहोस्