Skip to content

मदन आश्रितका विचार र योगदान यात्रामा दीपस्तम्भझैँ छन् : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभइ यथार्थको धरातलमा टेकेर उभिएको विचार भएकाे बताएका छन् । ३३औँ मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा नेताहरूको योगदानको स्मरण गर्दै उनले यस्ताे बताएका हुन् । ओलीले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विचार र योगदान दीपस्तम्झैँ रहेको बताए । ‘मदन भण्डारी – जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौँ अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न । तर, विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन् । जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो, ‘ओलीले लेखेका छन् ।

दासढुंगामा भएको रहस्यमय घटनाकाे ३३ वर्ष पूरा भएकाे छ । तर, यो घटना एउटा दुर्घटना थियो कि षडयन्त्र ? अझै छिनोफानो भएको छैन । ओलीले मदन भण्डारीलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभएर एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने बताए । ‘जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो। मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ,’ उनले भनेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मदन भण्डारी आफ्नो नेता, साथी, सहयोद्धा सबै रहेको उल्लेख गरेका छन् । जीवराज आश्रित कुशल संगठक भएको उनले स्मरण गरेका छन् ।

‘आज मदन – आश्रितको ३३औँ स्मृति दिवस । ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौँ । घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्,’ उनले लेखेका छन्, ‘जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा सबै हुनुहुन्थ्यो । जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो । मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो ।’ ओलीले जनताको बहुदलीय जनवादले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दिएको आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्‍याउने मार्गचित्र दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्