दार्चुला — दार्चुलाको मार्मा गाउँपालिकामा शनिबार राति जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शनिबार राति करिब ८ बजेतिर मार्मा गाउँपालिका–१ स्थित ताकुबाट घोल्जरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज ००७६ नम्बरको जिप दुर्घटनामा परेको हो । मार्मा–१ निवासी चालक २६ वर्षीय हरिश महराले चलाएको जिप घोल्जर पातिहाल्दा क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुर्घटनामा चालक महरासहित मार्मा–१ घोल्जर निवासी २७ वर्षीया मनिसा ठगुन्ना, १७ वर्षीया स्मृती ठगुन्ना, १३ वर्षीया सारिका ठगुन्ना र १६ वर्षीय विवेक ठगुन्ना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये चालक हरिश महरा र १७ वर्षीया स्मृती ठगुन्नाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई रातिनै उद्धार गरी थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्