Skip to content

सरकार लोकतान्त्रिक बाटोबाट विचलित भएको प्रचण्डको आरोप

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारमाथि बन्देज लगाउन अग्रसर भएको आरोप लगाएका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्ने खतरा बढेको बताएका हुन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डले सरकारले संसद् बोलाएर भोलिपल्टै रोक्दै अध्यादेश ल्याएको घटनालाई लोकतन्त्रको उपहासको संज्ञा दिए। नेपालको सन्दर्भमा अहिलेसम्म नभएको अभ्यास वर्तमान सरकारले गरेको भन्दै उनले यसप्रति बुद्धिजीवी र आम नागरिकले समेत असन्तुष्टि व्यक्त गरिरहेको बताए । ट्रेड युनियन खारेजी, विद्यार्थी संगठनमाथि प्रतिबन्धलगायतका गतिविधिले सरकार लोकतान्त्रिक मार्गमा नरहेको स्पष्ट देखिएको उनको भनाइ थियो। सरकारले नागरिक अधिकार विरोधी कदम चालिरहेको आरोप लगाउँदै उनले यस्ता गतिविधिलाई समर्थन गर्न नसकिने बताए । प्रचण्डले सरकारका सकारात्मक काममा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने तर संविधान, लोकतन्त्र र नागरिक अधिकारमाथि आघात पुग्ने गतिविधिविरुद्ध निरन्तर खबरदारी गर्ने स्पष्ट पारे । प्रदेश सरकार पुनर्गठनबारे पनि उनले धारणा राखेका छन्। कांग्रेस र एमालेबाट संयुक्त रूपमा प्रदेश सरकार गठनको प्रस्ताव आएको भए पनि आफ्नो पार्टीले अस्वीकार गरेको उनले जानकारी दिए । अहिले नेकपा प्रदेश सरकार परिवर्तनको पक्षमा नरहेको उल्लेख गर्दै सबै दल मिलेर साझा सरकार गठन गर्न सहमति भए मात्र आफ्नो समर्थन रहने बताए ।

प्रतिक्रिया दिनुहोस्