काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेता–कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार बसेको एमाले सचिवालय बैठकमा बोल्दै ओलीले पार्टी र नेतृत्वमाथि संकट आएको बेला पुनर्गठनको बहस उठाउनु अराजकता भएको बताएका हुन् । बैठकमा करिब एक घण्टा बोलेका ओलीले पुनर्गठनको नाममा पार्टी आन्दोलन कमजोर बनाउन खोजिएको आरोप लगाएका थिए । उनले कसैको नाम भने सार्वजनिक रूपमा लिएनन् । तर सचिवालय तहका नेताहरूका अनुसार उनको असन्तुष्टि उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई र नेता सुरेन्द्र पाण्डेतर्फ लक्षित थियो ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर नतिजा ल्याएपछि एमालेभित्र नेतृत्व पुनर्गठनको बहस चर्किएको छ । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङलगायत नेताहरूले पार्टी पुनर्गठन आवश्यक रहेको धारणा राख्दै आएका छन् । महासचिव शंकर पोखरेलले समेत नेतृत्वको विकल्पबारे संकेत गर्न थालेपछि ओली थप असन्तुष्ट बनेको नेताहरू बताउँछन् ।
बैठकमा ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईले प्रतिवाद गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार भट्टराईले “अब तपाईंले के जित्न बाँकी छ ?” भन्दै ओलीलाई प्रत्यक्ष प्रश्न गरेका थिए । अन्य केही नेताहरूले पनि पुनर्गठनको बहसलाई कारबाहीको विषय बनाउन नहुने भन्दै विरोध जनाएका थिए । एमाले सचिवालय बैठक आगामी शुक्रबार फेरि बस्नेछ । बैठकका लागि ११ वटा कार्यसूची तय गरिएको छ । सोमबारको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय समेत गरेको थियो । आगामी बैठकबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको नेताहरूले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्