काठमाडौं – इन्दिरा राना मगरले सुकुमवासी बस्ती व्यवस्थापनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी को स्पष्ट औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारमा रवि लामिछाने ले कोशी प्रदेशका सांसदहरूसँग गरेको छलफलमा सहभागी हुँदै सांसद मगरले सुकुमवासी बस्ती हटाउने विषयमा सरकार र स्थानीय तहले गरिरहेको गतिविधिप्रति असन्तुष्टि जनाएकी हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहहरूले सुकुमवासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप लगाइन् । लालपूर्जा भएका नागरिकलाई समेत उठ्न नोटिस दिइएको भन्दै उनले त्यसबारे पार्टीको धारणा स्पष्ट हुनुपर्ने बताइन् ।
उनले झापाका केही स्थानीय तहहरूले केन्द्र सरकारको निर्देशन भन्दै सुकुमवासी बस्ती हटाउन सूचना जारी गरिरहेको विषयमा पनि आपत्ति जनाइन् । नदी अतिक्रमण गरेर बस्नु गलत भए पनि कानुनी प्रक्रिया र नागरिकको अधिकारलाई बेवास्ता गरेर जबर्जस्ती हटाउने काम उचित नभएको उनको भनाइ थियो । सांसद मगरले कतिपय स्थानमा जग्गाको मूल्यभन्दा बढी कर उठाइएको गुनासोसमेत आएको उल्लेख गर्दै सुकुमवासी व्यवस्थापनका नाममा नागरिकमाथि अन्याय हुन नहुने बताइन् ।





प्रतिक्रिया दिनुहोस्