काठमाडौँ – नेपाली काँग्रेसका नेता धर्मानन्द जोशीले महाकाली करिडोरको वर्तमान अवस्थामाथि तीव्र असन्तुष्टि जनाएका छन् । हालै स्थलगत भ्रमणपछि उनले सामाजिक सञ्जालमार्फत करिडोरको नाममा राज्यको रकम दुरुपयोग भएको आरोप लगाएका हुन् । जोशीले अहिले बनाइएका सडकहरू “साँघुरा, घुमाउरा र कृषि सडकजस्ता ट्र्याक” मात्रै भएको भन्दै यसलाई राष्ट्रिय राजमार्ग भन्न नमिल्ने बताएका छन् । उनका अनुसार महाकाली आसपासका गाउँ जोड्न खोलिएका ट्र्याकलाई नै “महाकाली करिडोर” को नाम दिइएको छ, तर वास्तविक रूपमा आवश्यक पूर्वाधार विकास भएको छैन ।
उनले लेखेका छन्, “कोरिडोरको नाममा यो महाकाली आसपासका गाउँहरू घुम्ने कृषि सडकहरूको सञ्जाल मात्रै रहेछ । अहिले खोलिएका ट्र्याकहरू बेकामका छन्।” जोशीले करिडोरलाई साँच्चिकै राष्ट्रिय हाइवे बनाउन धेरै ठाउँमा शून्यबाट काम सुरु गर्नुपर्ने, नयाँ ट्र्याक खोल्नुपर्ने तथा सयौँ पुल र कल्भर्ट निर्माण गर्नुपर्ने बताएका छन् । उनका अनुसार यसका लागि शक्तिशाली केन्द्रीय योजना आवश्यक पर्नेछ र काम सम्पन्न हुन दशकौँ लाग्न सक्छ । उनले भारततर्फ रहेको महाकाली करिडोरको उदाहरण दिँदै नेपालले त्यहाँबाट धेरै कुरा सिक्न सक्ने उल्लेख गरेका छन् । स्थलगत भ्रमणपछि आफू “मन रोएर फर्किएको” उल्लेख गर्दै उनले सरकारलाई महाकाली करिडोरलाई केवल राजनीतिक भाषणको विषय नबनाई वास्तविक राष्ट्रिय गौरवको परियोजनाका रूपमा अघि बढाउन आग्रह गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्