काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला विस्तारित बैठक शनिबार तनावग्रस्त बनेको छ । पूर्वसंयोजक चन्दन स्वर्णकारमाथि गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट पक्षले विरोध जनाएपछि बैठकमा विवाद चर्किएको हो ।
कलैयास्थित करणराज होटलमा आयोजित बैठकमा पार्टीका केही पुराना कार्यकर्ताले संस्थापन पक्षले दबाब सिर्जना गरेको आरोप लगाउँदै प्रतिनिधिसभा सदस्यहरूको विरोध गरेका थिए । विवाद बढ्दै गएपछि बैठकस्थल तनावपूर्ण बनेको सहभागीहरूले बताएका छन् । बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्यहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी थिए । असन्तुष्ट पक्षले उनीहरूविरुद्ध नाराबाजी र प्रदर्शन गरेपछि अवस्था नियन्त्रणबाहिर जान थालेको बताइएको छ । तनाव चर्किएपछि प्रहरीले हस्तक्षेप गर्दै चारै जना सांसदलाई सुरक्षित स्थानमा पुर्याएको थियो । त्यसपछि कार्यक्रमस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । रास्वपाभित्र पछिल्लो समय संगठन विस्तार र कारबाहीका विषयलाई लिएर देखिएको आन्तरिक असन्तुष्टि कलैयाको बैठकमा सतहमा आएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्