काठमाडौं – योगेश भट्टराई ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली को राजीनामा माग गरेका छन् । जारी सचिवालयको आठौं बैठकमा शनिबार धारणा राख्दै उनले ओली नेतृत्वबाट अब पार्टी आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष सुनाएका हुन् ।
बैठकमा बोल्दै भट्टराईले अध्यक्ष ओलीलाई लक्षित गर्दै “अब तपाईंले राजीनामा दिनुस्, तपाईंबाट पार्टी आन्दोलन अघि बढ्न सक्दैन,” भन्ने धारणा राखेको एक पदाधिकारीले बताएका छन् । उनले पार्टीभित्र पुनर्गठनको पक्षमा उठिरहेका आवाजलाई नेतृत्वले सम्बोधन गर्दै निकास दिनुपर्नेमा जोड दिएका थिए । शनिबारको बैठकमा ९ जना नेताहरूले धारणा राखेका थिए । स्रोतका अनुसार सचिव महेश बस्नेत बाहेक अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । सचिव पद्मा अर्याल ले पनि नेतृत्वले सोचेजस्तो अवस्था पार्टीको तल्लो तहमा नरहेको भन्दै सुधारको आवश्यकता औंल्याएकी थिइन् ।
“माथिबाट हेर्दा जस्तो देखिन्छ, तल त्यस्तो छैन,” भन्दै उनले संगठनभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्न नेतृत्व गम्भीर हुनुपर्ने धारणा राखेकी थिइन् । यता सचिव महेश बस्नेत भने बैठकमा अध्यक्ष ओलीको बलियो बचाउमा उत्रिएका थिए । उनले संकटपूर्ण अवस्थामा नेतृत्व परिवर्तनको माग उठाउनु गलत भएको टिप्पणी गरेका थिए । “यस्तो बेलामा अध्यक्ष ओली नेतृत्वबाट हट्नुपर्छ भन्ने अपराधी हुन् । संकटका बेला नेतृत्व हटाउन लाग्नेहरू अपराधी हुन्,” बस्नेतको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बताए । एमालेभित्र पछिल्ला दिनमा नेतृत्व, संगठन पुनर्गठन र पार्टीको भावी दिशाबारे तीव्र बहस चलिरहेका बेला सचिवालय बैठकमा देखिएको यो मतभेदलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।





प्रतिक्रिया दिनुहोस्