काठमाडौं – विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ नदिएसम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूची अघि बढाउन लाग्दा विपक्षी सांसदहरू उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले विपक्षी दलका प्रतिनिधिहरूलाई धारणा राख्न समय दिएका थिए ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा ले जनतासँग जोडिएका विषयमा प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने बताइन् । त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महर ले संवैधानिक र संसदीय अभ्यासअनुसार प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने धारणा राखे । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल ले संविधान र कानुनको सम्मान गर्दै प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो धारणा राख्नुपर्ने बताए । श्रम संस्कृति पार्टीका सांसद आरेन राइ ले संसद्को गरिमा जोगाउन सबै दल जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री संसद्मा नआएसम्म विरोध जारी रहने चेतावनी दिए । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली ले पनि प्रधानमन्त्री र सांसदबीच संवाद आवश्यक रहेको बताउँदै सत्तारुढ दलले समेत यस विषयमा पहल गर्नुपर्ने धारणा राखिन् ।





प्रतिक्रिया दिनुहोस्