Skip to content

सुशासन र समृद्धिका लागि राजनीतिक चरित्रमा परिवर्तन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्न शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार अपरिहार्य रहेको बताएका हुन् । उनले केवल राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने उल्लेख गर्दै राजनीतिक दल र नेतृत्वलाई अझ सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्न आग्रह गरे । “राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा हुँदैन,” राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको उल्लेख गर्दै वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई मूल मार्गदर्शनका रूपमा अघि बढाएकोमा खुशी व्यक्त गरे । उनले शासकीय सुधारका १०० कार्यसूचीको पूर्ण कार्यान्वयन तथा सीमाविहीन अर्थतन्त्र र तौलविहीन व्यापारका लागि गरिएका कानूनी एवं संरचनागत सुधारले जनतामा नयाँ आशा जगाउने विश्वास व्यक्त गरे । सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले देशका स्रोत र साधनको उच्चतम उपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा, औद्योगिक तथा सेवा क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले आर्थिक विकास र समृद्धिलाई नागरिकको जीवनसँग जोड्न सके मात्र शासन व्यवस्थाप्रति जनविश्वास बलियो बन्ने धारणा राखे ।

“आज नागरिकले सुशासनसहितको समृद्धि खोजेका छन् । यो नै आजको हाम्रो ऐतिहासिक अभिभारा हो,” उनले भने । राष्ट्रपति पौडेलले गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिको स्वामित्व प्रदान गरेको उल्लेख गर्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणाका रूपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्