काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को भारत भ्रमण पार्टी सचिवालय बैठकले स्वीकृत गरेको छ। आइतबार बिहान बसेको भर्चुअल सचिवालय बैठकले लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलको पाँच दिने भारत भ्रमण अनुमोदन गरेको हो । बैठकमा सभापति लामिछानेले आफूलाई भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन ले यसअघि नै भ्रमणको निम्तो दिएको जानकारी गराएका थिए । भारत भ्रमणमा लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन् । रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारी का अनुसार बैठक मुख्यतः पार्टीको महाधिवेशन केन्द्रित विषयमा केन्द्रित रहेको थियो। प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिसम्बन्धी विषयमा भने कुनै छलफल नभएको उनले बताइन् । ‘सभापतिज्यूले भारत भ्रमणबारे जानकारी दिनुभयो। बैठकले भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिबारे कुनै छलफल भएन। महाधिवेशन केन्द्रित छलफल भयो,’ अधिकारीले भनिन् ।
रास्वपाका प्रवक्ता मनिष झा का अनुसार प्रतिनिधिमण्डल आइतबार दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा लामिछानेले भारतको राजधानी नयाँ दिल्ली मा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्तामा सहभागी हुनेछन् । साथै, भाजपाका शीर्ष नेताहरूसँग छलफल, अयोध्या को व्यक्तिगत भ्रमण तथा भारतमा बसोबास गर्ने नेपाली समुदाय र पार्टी शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्