Skip to content

नेपालमा मनसुन कहिले भित्रिन्छ ?

काठमाडौँ – सरदरभन्दा तीन दिन ढिला गरेर मनसुनी वायु भारतको केरला आइपुगेको छ। यही गतिमा मनसुन अगाडि बढे करिब एक हप्तासम्ममा नेपाल प्रवेश गर्ने मौसमविद्ले जानकारी दिएका छन् । मनसुनी वायु १६ मे मै दक्षिणी बंगालको खाडीमा आइपुगिसकेको थियो । तर त्यसपछि विस्तार हुन भने समय लागेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। दक्षिणी बंगालको खाडीमा सरदरभन्दा झण्डै एक साताअगाडि आइपुगेको थियो। तर केरला चाहिँ औसतभन्दा तीन दिन ढिला पुग्यो ।

सरदर जुन १३ मा मनसुन नेपाल भित्रने गर्छ। अघिल्लो वर्ष झण्डै १५ दिनअगाडि नै भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन याममा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको प्रक्षेपण गरेको छ। त्यस्तै सरदरभन्दा बढी गर्मी हुने अनुमान छ ।

तथापि प्रि–मनसुन याममा उल्लेख्य वर्षा भएको थियो। सरदरभन्दा झण्डै २६ प्रतिशत बढी पानी परेको विभागले जनाएको छ । विभागका अनुसार अहिले मनसुन ऋतु आरम्भ भइसकेको छ । हालसम्म १२ मिलिमिटरभन्दा बढी सरदर वर्षा भइरहेको छ। विभागले जेठ १८ देखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन अवधि मान्ने गरेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार नेपालको धेरै भूभागमा असारको १५ गतेसम्म राम्रै वर्षाको सम्भावना छ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले शुक्रबार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य हिमाली र पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । मधेश कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा पनि वर्षाको सम्भावना छ । यसैगरी, मधेस र लुम्बिनी प्रदेशका तराई भागका थोरै स्थानमा मध्यम तातो लहर चल्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मी बढ्ने सम्भावना छ ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ । साथै, महाशाखाले तापक्रम बढ्ने सम्भावना रहेका विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्