Skip to content

सरकारमाथि निगरानी बढाउने कांग्रेसको रणनीति, मन्त्रालयगत संयोजकहरूको नियमित बैठक बस्ने

काठमाडौं – सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी बढाउने तथा संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित नेपाली कांग्रेसका मन्त्रालयगत संयोजकहरूको बैठक बसेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनसरोकारका विषयमा धारणा राखेका थिए । बैठकमा मन्त्रिपरिषद्का निर्णय तथा सरकारका कामकारबाहीको नियमित अनुगमन गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन–विश्लेषण गर्ने र संसदमा प्रभावकारी रूपमा विषय उठाउने विषयमा छलफल भएको थियो । त्यस्तै, राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माणका लागि सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने तथा सरकारलाई थप जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय गरिएको जनाइएको छ ।

बैठकले मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने निर्णय पनि गरेको छ। आवश्यकता अनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने व्यवस्था गरिएको छ । कांग्रेसले मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाएर सरकारको कामको प्रभावकारी अनुगमन गर्दै संसदमा रचनात्मक र सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने रणनीति अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्